तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा थप दश दिन निषेधाज्ञा 

सल्यान । सल्यानमा थप दश दिन निषेधाज्ञा जारी गरिएको छ । जिल्लाका सबै पालिकाहरूमा कोभिड १९ को संक्रमण दर उच्च रहेको र मृत्युदर पनि बढी रहेको भन्दै जिल्लामा थप १० दिन निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।
जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र सल्यानको शनिबार बसेको बैठकले जेठ १७ गते बिहान १ बजेदेखि जेठ २६ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रशासनले जनाएको छ ।
सङ्क्रमणको नियन्त्रण, रोकथाम तथा सङ्क्रमितको उपचार गर्न निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले जानकारी दिइन ।
निषेधाज्ञाको क्रममा अत्यावश्यक बाहेकका सम्पूर्ण सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न पूर्ण रुपमा रोक लगाइएको छ । यस्तै तरकारी, फलफूल, माछा मासु, दाना, एग्रोभेट, दूध डेरी खाना पकाउने ग्याँस पसलहरू दैनिक बिहान ६ बजेदेखि बिहान ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने साथै फलफूल, तरकारी, माछा मासु बाहेकका खाद्यान्न लगायतका अन्य अत्यावश्यक उपभोग्य वस्तु तथा सेवाका हकमा आइतबार र बुधवार बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय भएको उनको भनाई छ ।
यस्तै नगरपालिकाले न्यूनतम २५ बेड र प्रत्येक गाउँपालिकाले १५ बेडको अक्सिजन र स्वास्थ्यकर्मी सहितको कोभिड अस्पताल सञ्चालन गर्न व्यवस्था मिलाउने, सबै पालिकाले कोभिड १९ को तेस्रो लहर आउनसक्ने पूर्व अनुमान गरी आगामी वर्षको वार्षिक बजेटमा कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि पर्याप्त बजेट विनियोजन गर्ने निर्णय समेत भएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।
सल्यान जिल्ला अस्पतालमा अक्सिजन रिफिलिङ गर्न सक्ने क्षमता भएको अक्सिजन प्लान्ट राख्न सकेमा मात्र जिल्लाभरका कोभिड १९ सङ्क्रमितहरूको उपचार सहज हुने भएकाले कम्तीमा रु ४ करोड सम्मको अक्सिजन प्लान्ट जडान गर्न प्रत्येक नगरपालिकाले ५० लाख र प्रत्येक गाउँपालिकाले रु ४० लाख आगामी वर्षको बजेटमा सल्यान जिल्ला अस्पतालको अक्सिजन प्लान्ट शीर्षकमा बजेट विनियोजन गर्न सबै पालिकाका अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button