तपाईँ सुन्दै हुनुहुन्छः

टानद्वारा  ‘फुड बैङ्क’ स्थापना

काठमाडौँ । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले पर्यटन क्षेत्रका मजदुरलाई लक्षित गरेर ‘फुड बैङ्क’ स्थापना गरेको छ । निषेधाज्ञा जारी भएपछि समस्यामा परेका पर्यटन मजदुरलाई सहयोग पुर्‍याउने उद्देश्यले सो संस्थाले आफ्नो ४३ औँ स्थापना दिवसको अवसर पारेर आजदेखि ‘फुड बैङ्क’ सञ्चालनमा ल्याएको  हो ।
टानका अध्यक्ष खुमबहादुर सुवेदीले फुड बैङ्कले कोरोनाले समस्यामा पारेको पर्यटन क्षेत्रका श्रमिकको  दैनिकीलाई सहज बनाउने बताउनुभयो । फुड बैङ्कमा हालसम्म झन्डै तीन लाख रकम सङ्कलन भइसकेको अध्यक्ष सुवेदीको भनाई छ ।
टानले फुड बैङ्कलाई प्रभावकारीताका साथ अगाडि बढाउनका लागि प्रथम उपाध्यक्ष चोलेन्द्रबहादुर कार्कीको संयोजकत्वमा सात सदस्यीय उपसमिति समेत गठन गरेको छ । ट्रेकिङ कम्पनीको सिफारिसमा खाद्यान्न सामाग्री र अति आवश्यक सामग्री हस्तान्तरण गर्ने योजना रहेको अध्यक्ष सुवेदीले बताउनुभयो । टानमा देशभरका दुई हजारभन्दा बढी ट्रेकिङ कम्पनी आबद्ध छन् ।
कोरोनाबाट थलिएको पर्यटन क्षेत्रमा काम गर्न मजदुरलाई यस क्षेत्रबाट पलायन हुन नदिन यस अभियानले सहयोग पुग्ने विश्वास टानले लिएको छ । अध्यक्ष सुवेदीले टानले अगाडी सारेको फुड बैङ्कमा सम्पूर्ण व्यवसायी तथा पर्यटन क्षेत्रका व्यक्तिले सक्दो सहयोग गर्न आह्वान समेत गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button