तपाईँ सुन्दै हुनुहुन्छः

बजेट कोरोना नियन्त्रणमा केन्द्रित हुनु सबल पक्ष : उद्योगी व्यवसायी

बीरगंज । मुलुकको प्रमुख आर्थिक केन्द्र एवं व्यापारिक नगरी बीरगंजका उद्योगी व्यवसायीहरूले सरकारले घोषणा गरेको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट समग्रमा राम्रो रहेको तथा कोरोना संक्रमण नियन्त्रणका लागी प्रभावकारी सिद्ध हुने प्रतिक्रिया व्यक्त गरेका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले शनिवार सार्वजनिक गर्नुभएको बजेटको सम्बन्धमा रेडियो नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै बीरगंजका निजी क्षेत्रका सङ्घ सङ्गठनका पदाधिकारीहरूले बजेट समग्रमा राम्रो र सकारात्मक भएको प्रतिक्रिया व्यक्त गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नम्बर २ का अध्यक्ष गणेशप्रसाद लाठले बजेटले बिशेषगरी कोरोना संक्रमण महामारीमा केन्द्रित हुनु सुखद पक्ष भएको बताउँदै यसलाई सफल रुपमा कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व वरिष्ठ उपाध्यक्ष एवं निम्बस समूहका अध्यक्ष जगदीशप्रसाद अग्रवालले निजी क्षेत्रप्रति उदार मानिनुभएका अर्थमन्त्रीले ल्याएको बजेटले आशावादी हुने आधारहरू खडा गरेको बताउँदै कोरोना महामारीबाट प्रभावित उद्योगका लागि राहत दिने घोषणाले उद्योगी व्यवसायीलाई उत्साहित बनाएको बताउनुभयो ।

उहाँले मेड इन नेपाल र मेक इन नेपालका लागि के कस्तो नीतिगत र प्रक्रियागत सुधार गरिने हो त्यसको प्रतिबद्धता पनि बजेटमा समेटिएको भए सुनमा सुगन्ध थपिने बताउनुभयो ।

त्यसै गरी नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रिय सदस्य एवं बीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले बजेट कोरोना महामारी नियन्त्रणमा केन्द्रित हुनु सकारात्मक रहेको बताउँदै पुनर्कर्जालाई बढाएर १३ अर्ब रुपैयाँ बनाउनु, उत्पादनमूलक उद्योग र होटेलहरूको डिमान्ड शुल्क मिनाहाको घोषणा गर्नु, हुलाकी मार्ग निर्माणमा प्रशस्त बजेट विनियोजन हुनु,  शैक्षिक प्रमाण पत्रका आधार ऋण, प्रधानमन्त्री रोजगार योजना, अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र, बाराको गढीमाईको विकास गुरुयोजना, सातै प्रदेशमा कृषि बजार बनाइने विषय सकारात्मक रहेको बताउनुभयो ।

उहाँले मुलुकको प्रमुख आर्थिक केन्द्र एवं राजश्व असुलीमा ४० प्रतिशत योगदान दिने बीरगंजको विकासमा बजेट भने सकार मौन रहेको भन्दै गुनासो व्यक्त गर्नुभयो ।

बीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि गौतमले साढे १६ खर्बको बजेटको आम्दानी १० खर्ब रुपैयाँ जति होला । बाँकी ऋणको भरमा छ । ऋण आएन भने विकास निर्माणमा काम प्रभावित हुने हुँदा यसतर्फ राज्यको ध्यान बेलैमा केन्द्रित हुनुपर्ने कुरामा जोड दिनुभयो ।

नारायणी सिमेन्टका महाप्रबन्धक एवं आर्थिक विश्लेषक उमेशचन्द्र ठाकुरले सरकारले अध्यादेशमार्फत ल्याएको बजेट अपेक्षा गरिएभन्दा बढी लोकप्रिय तथा बजेटले सबै क्षेत्रलाई समेटेको बताउनुहुँदै कोरोना महामारी नियन्त्रणमा बजेट केन्द्रित हुनु सबल पक्ष भएको बताउनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button