तपाईँ सुन्दै हुनुहुन्छः

प्रादेशिक अस्पताल जनकपुरधामको सुधारका लागि उच्च स्तरीय समिति गठन 

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधामको समग्र सेवा सुविधा सम्बन्धी प्रतिवेदन तयार गर्न प्रदेश सरकारले तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ ।

अस्पतालको सेवा सुविधामा समस्या रहेको जनगुनासो बढेपछि मुख्यमन्त्री लालबाबु राउतले अस्पतालको अवस्थाबारे जानकारी लिन सरोकारवालासहित अस्पतालका वरिष्ठ चिकित्सकहरूको बैठक बोलाएर सो निर्णय गर्नु भएको हो  ।

मुख्यमन्त्री निवासमा आयोजित बैठकमा मुख्यमन्त्री राउतले अस्पताल कहिलेसम्म र कसरी सुधार हुने प्रश्नको जवाफ अस्पतालका मेसुलगायत चिकित्सकहरूसँग माग्नु भएपछि मेसु लगायतका चिकित्सकहरू अस्पतालको वर्तमान समस्या र त्यसका समाधानका उपायबारे आ–आफ्नो धारणा राख्नु भएको थियो ।

चिकित्सकहरूले दिएको सुझावहरूलाई सङ्कलन गर्दै अस्पतालको समग्र सुधारको भावी कार्य योजना सहितको प्रतिवेदन तयार गर्न प्रदेश सरकारले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।

सामाजिक विकास मन्त्रालयका सचिव इम नारायण श्रेष्ठ र प्रदेश नंं २ का स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झा सदस्य रहेको समितिलाई अस्पतालका वरिष्ठ चिकित्सकहरूको सल्लाहमा प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको छ ।

४ दिन समय सीमा पाएको उक्त समितिले अस्पतालको उपचार, कर्मचारी व्यवस्थापन , प्रतिष्ठान अन्तर्गत गएपछि गरिनु पर्ने संरचनागत परिवर्तनलगायत अन्य सुविधाहरूलाई समेटेर प्रतिवेदन तयार गर्ने कार्यादेश पाएका छ ।

बैठकमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह, प्रमुख सचिव गोकर्णमणि दुवाडी, महान्यायाधिवक्ता दिपेन्द्र झा, सचिव यम प्रसाद भुषाल, सामाजिक विकास मन्त्रालयका सचिव इम नारायण श्रेष्ठ, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सञ्जय सिंह सहित समितिका पदाधिकारीहरू, आपूर्ति महाशाखाका निर्देशक डा. प्रमोद कुमार यादव, स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झा, अस्पतालका मेसु डा. प्रमोद यादवसहित वरिष्ठ चिकित्सक एवं विभागीय प्रमुख एवं प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button