तपाईँ सुन्दै हुनुहुन्छः

हारको दोष आफूले लिने मुख्य प्रशिक्षकको भनाइ

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले इराकसँगको फराकिलो हारको दोष आफूले लिने बताउनुभएको छ ।
शनिबार राति घरेलु टिम इराकसँग ६–२ गोल अन्तरले पराजित भएपछि प्रशिक्षक अलमुताईरीले हारमा आफु दोषी भएको बताउनुभएको हो । प्रशिक्षक अलमुताईरीले टिमका खेलाडीलाई सुधार गर्न समय लाग्ने जानकारी दिनुभयो ।
युवा खेलाडी मनीष डाँगी नेपाली राष्ट्रिय फुटबल टिमबाट डेब्यु खेलमै गोल गर्ने तेस्रो खेलाडी भएका छन् । इराकविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यु गरेका मनीषले २९ औँ मिनेटमा गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाएका थिए ।
इराकी गोलकिपर अगाडि बढेको फाइदा उठाउँदै गोल गरेका थिए । डाँगी पहिलो पटक नेपालको सिनियर टिममा परेका थिए । बाबुआमा नै दक्षिण कोरिया बस्ने डाँगी त्यहाँ उमेर समूहमा खेल्दै आएका खेलाडी पनि हुन् । उनी नेपालको १८ बर्ष मुनिको साफ च्याम्पियनसिपमा पनि खेलेका थिए भने हालै नेपालमा भएको नेपाल सुपर लिगमा पनि विराटनगर एफसीबाट सहभागी भएका थिए ।
नेपाली टिमको मुख्य प्रशिक्षकमा अब्दुल्लाह अल्मुताईरी आएपछि युवा खेलाडीलाई मौका दिँदा मनीषले पनि टिममा स्थान बनाएका थिए । इराकसँग समग्रमा नेपाल ६–२ गोल अन्तरले पराजित भए पनि मनीषले धेरै कुराहरू सिक्न पाएको प्रतिक्रिया दिएका छन् ।
मनीष डेब्यु खेलमै गोल गर्ने तेस्रो खेलाडी भए पनि दोस्रो खेलाडीको रुपमा नेपालका सफल कप्तान समेत रहिसकेका हरि खड्का र पहिलो स्थानमा वाइबी घलेको नाम आउँछ ।
इराकसँग मैत्रीपूर्ण खेलपछि अब नेपाली फुटबल टोली विश्व कप छनोट २०२२ र एसिया कप छनोट २०२३ का बाँकी खेलका लागि कुवेत जानेछ ।
कुवेतमा नेपाली टोलीले विश्व कप छनोट र एसिया कप छनोटको बाँकी ३ खेल खेल्नेछ । नेपाली टोलीले जेठ २० गते चाइनिज ताइपेइ, जेठ २५ गते गते जोर्डन र जेठ २८ गते अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाल अहिले अङ्क तालिकामा ३ अङ्कका साथ चौथो स्थानमा छ । नेपालको ५ खेलमा १ जित र ४ खेलमा हार बेहोरेको थियो । अङ्क तालिकाको पुछारमा रहेको ताइपेइले अङ्क जोड्न सकेको छैन । अस्ट्रेलिया १२ अङ्कका साथ शीर्षस्थानमा छ भने कुवेत र जोर्डनको समान १० अङ्क छ ।
अङ्क तालिकाको चौथो स्थानमा रहँदै छनोट चरण सकेको खण्डमा नेपालले एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर रहनेछ । विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्र बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button