तपाईँ सुन्दै हुनुहुन्छः

बजेटको प्रभावकारी कार्यान्वयन गरिनेः अर्थमन्त्री पौडेल

file photo

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक बर्ष २०७८–०७९को बजेटको प्रभावकारी कार्यान्वयनको लागि सोमवारदेखि नै काम अघि बढाउने बताउनुभएको छ ।

शनिवार सार्वजनिक आगामी आर्थिक बर्ष २०७८–०७९को बजेटका विभिन्न पक्षमा जानकारी गराउन अर्थ मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले कोभिडको महामारीलाई कम गर्न र मुलुकको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने गरी बजेटको प्रभावकारी कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनुभयो ।
अर्थमन्त्री पौडेलले सबै जनतालाई खोपको सुविधा हुने गरी आगामी दिनमा सबै सम्भावनाहरूको खोजी गर्दै अघि बढ्ने प्रतिबद्धतासहित बजेट आएको पनि उल्लेख गर्नुभयो ।
अर्थमन्त्री पौडेलले संवैधानिक प्रबन्ध अनुसार नै निर्धारित समयमा सरकारले बजेट ल्याएको भन्दै बजेट कोरोनाको रोकथाम,उपचार र नियन्त्रणमा केन्द्रित भएको स्पष्ट पार्नुभयो ।
अर्थमन्त्री पौडेलले आगामी निर्वाचन निष्पक्ष रुपमा सम्पन्न गर्नका लागि बजेटले यथेष्ट ध्यान दिएको र त्यसका लागि आवश्यक बजेटको प्रबन्ध समेत गरेको बताउनु भयो ।
पत्रकार सम्मेलनमा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले आर्थिक अनुशासन नखलबलिने गरी बजेटका स्रोतहरूको व्यवस्था गरेको र आर्थिक वृद्धिको लक्ष्य चालु आर्थिक वर्षको संशोधित अनुमानलाई नै आधार मानेर तय गरिएको बताउनुभयो ।
राजस्व सचिव रामशरण पुडासैनीले बजेटमा राजस्वको लक्ष्य चालु वर्षको संशोधित अनुमानको २० प्रतिशत मात्र बढाएको र आयातकर्तालाई लक्षित गरेर कर छूटको व्यवस्था नगरेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button