तपाईँ सुन्दै हुनुहुन्छः

आमाबाबुको मृत्यु भएपछि चार बालबालिकाको बिचल्ली 

सल्यान । एक वर्षको अन्तरालमा बाबुआमाको मृत्यु भएपछि जिल्लाको छत्रेश्वरी गाउँपालिकाका चार बालबालिकाको बिचल्ली भएको छ ।
बाबुआमाको मृत्यु भएपछि छत्रेश्वरी गाउँपालिका–४ भेरीखोरका १२ वर्षीया अमृता ओली, ११ वर्षीय मोहन ओली, ८ वर्षीय तिलक ओली र ५ वर्षीया जानकी ओलीको बिचल्ली भएको हो  ।
एक वर्षअघि आमा आशा ओली र बाबु भीम बहादुर ओलीको दुई महिनाअघि मृत्यु भएको थियो ।
आशाको दम रोगले थलिएर मृत्यु भएको थियो भने भीमबहादुर भीरबाट लडेर ज्यान गएको हो । आमाबाबु गुमाएपछि उनीहरूलाई खान लगाउन मुस्किल भएको छ । उनीहरू अहिले काका खिमबहादुर ओलीसँग बस्दै आएका छन् । तर खिमबहादुरको पनि आर्थिक अवस्था कमजोर भएपछि बालबालिकाको बिचल्ली भएको छ  ।
दाजु भाउजूको बितेपछि उनीहरू अहिले मेरै सहारामा छन् मेरो पनि आर्थिक अवस्था पहिल्यैदेखि कमजोर छ,  उनले भने, ‘एकैपल्ट दुई परिवारको दायित्व थपिएपछि बालबालिका पाल्न मुस्किल भएको छ ।’
कसैले बालबालिकाको पालनपोषणमा सहयोग गरे ठुलो पुण्य मिल्ने ओलीले बताए । उनका अनुसार बालबालिका बस्न छाडेपछि भएको एउटा घर पनि भत्किने अवस्थामा पुगेको छ ।
अभिभावकविहीन बालबालिकालाई बाल संरक्षण केन्द्रमा पठाउन पहल गरे पनि उनीहरूले काकालाई छाड्न नमान्दा समस्या भएको छत्रेश्वरी गाउँपालिका–४ का वडाध्यक्ष नेबबहादुर खड्काले बताए ।
काकासँगै बसे पनि उनीहरूले पूर्ण स्याहार पाउन नसकेको खड्काले बताए ।  निषेधाज्ञापछि उनीहरूको पालनपोषण गर्न र पढाइको व्यवस्था मिलाउन आवश्यक निर्णय लिइने उनको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button