तपाईँ सुन्दै हुनुहुन्छः

संवैधानिक इजलासमा वरिष्ठतम न्यायाधीश रहने 

काठमाडौँ । संवैधानिक इजलासमा न्यायाधीशहरू विभाजित भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वरिष्ठताका आधारमा नयाँ इजलास तोक्ने घोषणा गर्नुभएको छ ।
प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइका लागि गठन गरिएको ५ सदस्यीय संवैधानिक इजलासमा न्यायाधीशहरू विभाजित भएपछि प्रधानन्यायाधीश जबराले वरिष्ठताका आधारमा नयाँ इजलास तोक्ने घोषणा गर्नुभएको हो ।
नयाँ इजलास प्रधानन्यायाधीश जबराले जेठ २३ गते आइतबारलाई तोक्नुभएको छ ।
आजको इजलासमा प्रश्न उठाइएका न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीले आफूलाई इजलासबाट अलग गर्न अस्वीकार गरेपछि त्यसप्रति असहमति जनाउँदै सदस्यहरु दिपक कुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास छाड्नु भएको थियो ।
नेकपा विभाजन सम्बन्धी फैसला गर्ने न्यायाधीश बमकुमार श्रेष्ठ र त्यसमा पुनरावलोकन अस्वीकार गर्ने न्यायाधीश तेजबहादुर केसी इजलासमा समावेश भएको भन्दै रिट निवेदकका कानुन व्यवसायीले प्रश्न उठाउनु भएको थियो ।
इजलासमा प्रश्न उठेपछि न्यायाधीश श्रेष्ठ र केसीले आफूलाई अलग नगरेको र प्रधानन्यायाधीश संवैधानिक इजलासमा वरिष्ठतम न्यायाधीश नतोकेको प्रति न्यायाधीश दिपक कार्की र आनन्दमोहन भट्टराईको असहमति रहेको थियो ।
आजै सर्वोच्च बारका पदाधिकारीले पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेटेर वरिष्ठताका आधारमा विवादरहित ढङ्गले संवैधानिक इजलास गठन गर्न सुझाएको थियो ।
भेटमा प्रधानन्यायाधीश जबराले कार्य सञ्चालन नियमावली परिवर्तन गरेर वरिष्ठताका आधारमा इजलास गठन गर्ने सहमति जनाउनु भएको थियो ।
वरिष्ठतम न्यायाधीश रहने गरी इजलास गठन भए पाँच सदस्यीय नयाँ इजलासमा प्रधानन्यायाधीश जबरासँगै दीपक कुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भर प्रसाद श्रेष्ठ रहनुहुनेछ ।
संवैधानिक इजलासका लागि न्यायपरिषद्ले प्रधानन्यायाधीशलाई १३ जनाको रोष्टर उपलब्ध गराउने गरेको छ ।
सोही रोष्टरबाट प्रधानन्यायाधीशले न्यायाधीश छानेर इजलास गठन गर्दै आउनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button