तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली सेनाद्वारा २५ बेडको आइसोलेसन भवन निर्माण

सल्यान । नेपाली सेनाले सल्यान जिल्ला अस्पताल हाता भित्र २५ बेडको आइसोलेसन भवन निर्माण गरेको छ । कोरोना सङ्क्रमितलाई राख्न सल्यान अस्पतालमा बेडको अभाव भएपछि अस्पताल परिसरमा २५ बेडको अक्सिजन सहितको आइसोलेसन सेन्टर  सञ्चालनमा आएको हो ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आइसोलेसन भवन निमार्ण गरेको सबुज गण सिमखर्कका गणपति कञ्चन कृष्ण बस्नेतले बताउनुभयो । जिल्लामा कोरोना संक्रमण फैलिँदै गएको र अस्पतालमा सीमित बेड हुँदा नगरपालिकाको समन्वयमा नयाँ भवन सहित २५ बेडको आइसोलेसन सेन्टर निमार्ण गरिएको उहाँको भनाई छ ।
प्राकृतिक प्रतिकुलता, निषेधाज्ञाका कारण सामान ढुवानीमा समस्या र कोरोना महामारीकै बीचमा १५ दिनको बीचमा आइसोलेसन, ३ शौचालय, एक बाथरुम निमार्ण गरिएको बस्नेतले बताउनुभयो । सह सेनानी दीपक बुढाथोकीको कमान्डमा स्वास्थ्य मापदण्ड पालना गरी भवन निमार्ण गरिएको उहाँको भनाई छ । उनले भने ‘बेडको अभावकै कारण कोही नागरिकले अकालमै ज्यान गुमाउनु नपरोस् भनेर अस्पताल हाता भित्रै थप आइसोलेसन निमार्ण गरिएको छ ।’
यसअघि १६ शय्याको आइसोलेसन रहेको अस्पतालमा थप २५ बेडको आइसोलेसन निमार्ण भएसँगै सङ्क्रमितलाई उपचारमा सहज हुने स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले बताउनुभयो । बेडको अभावमा सङ्क्रमितलाई  आकस्मिक कक्षमा समेत राखेर उपचार गर्नु पर्ने बाध्यता थियो अब उक्त बाध्यता हट्ने उहाँले बताउनुभयो ।
विश्वभर फैलिएको कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर राखी  नेपाली सेनाको समन्वयमा आइसोलेसन भवन निमार्ण गरिएको शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले बताउनुभयो । भाइरसको रोकथाम तथा सम्भावित महामारी विरुद्ध प्रभावकारी व्यवस्थापनको लागि नगरपालिकाका श्रमदान बाहेक  १५ लाख लागतमा भवन निमार्ण गरिएको उहाँको भनाई छ ।
आइसोलेसन भवन निर्माण शारदा नगरपालिकाको १५ लाख र नेपाली सेनाको जनश्रम १० लाख गरी २५ लाख बराबरको लागतमा निर्माण भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button