तपाईँ सुन्दै हुनुहुन्छः

बनेपाको शिल हटाइयो : जिल्लामा सङ्क्रमित घट्दै

बनेपा । बनेपा नगर क्षेत्रमा लगातार दुई हप्ता गरिएको शिल आजदेखि हटाइएको छ । नगरक्षेत्रमा सङ्क्रमित सङ्ख्या घटिरहे पनि जोखिम कायमै रहेको जनाउँदै निषेधाज्ञा भने आउँदो २६ गतेसम्म जारी नै राखिएको छ । शिल अवधिभर बनेपाले मर्निङवाकसमेत गर्न दिएको थिएन । नगरद्वारा सोमबार जारी सूचनामा स्वास्थ्यका मापदण्ड अपनाई अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्न पाइने तथा बिहान छदेखि १० बजेसम्म खाद्यान्न, ग्यास, तरकारी, फलफूल, खानेपानी तथा पशुको दाना बिक्री गर्ने पसल खोल्न पाइने भएको जनाइएको छ ।
बैङ्क–वित्तीय संस्था, विद्युत्, सञ्चार कार्यालय, फोहोर व्यवस्थापनका कार्यालय खोल्न पाइए पनि निजी तथा सार्वजनिक सवारी, भिडभाड हुने जिमखाना, सिनेमा हल, विद्यालय, पार्टी प्यालेस, रेस्टुरेन्ट सञ्चालन गर्न पाइने छैन ।
केही दिनदेखि सङ्क्रमण दर घटिरहेको बनेपा नगरका हाल २११ पुरुषसहित ३९४ सक्रिय सङ्क्रमित छन् । हालसम्म यहाँका २२ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । बनेपा जिल्लाको प्रमुख शहर हो । अन्य चार स्थानीय तहमा भने शिल कायमै छ । पनौती नगर, भुम्लु गाउँपालिका र बेथानचोक गाउँपालिकाको शिल–अवधि पनि सोमबार सकिएको छ । नमोबुद्ध नगर र रोशी गाउँपालिका शिलको समय सीमा बुधवारसम्म छ । जेठ ७ गते पाँच दिन नगर क्षेत्र शिल गरेको धुलिखेलले एकै पटक पुनः १० दिन शिलको अवधि थपेको छ । पाँचखालले भने ८ गतेदेखि एकै पटक १५ दिन नगर शिल गरेको थियो ।
मण्डन देउपुरले दोस्रो लहरको कोभिड–१९ नगरमा तीव्र रूपमा फैलिएकाले यस जोखिमपूर्ण अवस्थामा सङ्क्रमण, नियन्त्रण, न्यूनीकरण तथा सङ्क्रमण शृङ्खला तोड्नुपर्ने जनाउँदै १२ गतेदेखि एकै पटक १० दिन नगर क्षेत्र शिल गरेको छ । शिल गरिएका सबै तहले आफ्नो क्षेत्रमा स्वास्थ्यसम्बन्धी अत्यावश्यक सेवाबाहेक सबै पूर्ण रूपमा बन्द गरेको जनाउँदै आएका छन् ।
सूचना विभागबाट जारी प्रेस पास बाहक सञ्चारकर्मीबाहेक नगरका अन्य व्यक्तिले अत्यावश्यक काममा मात्रै स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर बाहिर निस्कन पाइने स्थानीय तहद्वारा जारी सूचना एवं प्रेस विज्ञप्तिमा उल्लेख गरिएका छन् । जिल्ला प्रशासन कार्यालयले दोस्रो पटक थपेको निषेधाज्ञा २४ गतेसम्म छ । काभ्रेपलान्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् । केही गाउँपालिकाले पनि निषेधाज्ञामा थप कडाइ गरेको जनाउँदै आएका छन् ।
यसैबिच पछिल्लो २४ घण्टामा काभ्रेपलान्चोकमा ३८५ कोरोनामुक्त भएका छन् भने सङ्क्रमित २०६ मा सीमित रहे । अघिल्लो दिन १८६ भने जम्मा ५८ कोरोना सङ्क्रमित थपिएका थिए । यस्तै शनिबार १७६ कोरोनामुक्त भएका थिए भने ६४ नयाँ सङ्क्रमित थपिएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)ले जनाएको छ । केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा छ सङ्क्रमितले ज्यान गुमाएका छन् ।
कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता जिल्लामा हाल दुई हजार २२७ सक्रिय सङ्क्रमित रहेका छन् । जिल्लामा सबैभन्दा बढी पाँचखाल नगरमा १९ प्रतिशत अर्थात् ४०४ सङ्क्रमित छन् । कूल सङ्क्रमितमध्ये धुलिखेलमा २९९, पनौतीमा २७७, नमोबुद्धमा ११९, मण्डनदेउपुरमा १३६ तथा रोशी गाउँपालिकामा १२८, चौँरीदेउरालीमा ५७, तेमालमा ९४, भुम्लु १५२, खानीखोलामा २९, बेथानचोकमा १०७ र महाभारत गाउँपालिकामा ३१ सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनायो ।
कूल सङ्क्रमितमध्ये ९३ प्रतिशत अर्थात् २ हजार ८४ सङ्क्रमित होम आइसोलेसनमा उपचाररत छन् । केन्द्रका अनुसार हालसम्म जिल्लाका १३३ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button