तपाईँ सुन्दै हुनुहुन्छः

सबै नागरिकलाई खोपको समुचित व्यवस्था मिलाउन झापा वारको आग्रह

झापा । दोस्रो लहरको कोरोना भाइरसको उच्च जोखिम कायमै रहेका बेला नेपाल वार एसोसिएसन झापा इकाईले सबै नेपाली नागरिकलाई कोभिड–१९ विरुद्धको खोपको समुचित व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।
झापा वार र त्यसै मातहत रहेको मानव अधिकार तथा जनसरोकार समितिले कोभिड १९ को महामारीबाट नेपाली जनतालाई बचाउनको लागि खोप नै प्रभावकारी देखिएकोले तत्काल खोपको व्यवस्था गर्न माग गरेका हुन् ।
आज एक  प्रेस विज्ञप्ति जारी गर्दै झापा वारले सङ्घीय, प्रादेशिक तथा स्थानीय गरी तीन वटै तहका सरकारले नागरिकको बाच्न पाउने अधिकारको संरक्षण गर्न खोपको व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ ।
झापा वारले कोभिड–१९ महामारीको चपेटामा रहेका स्वास्थ्यकर्मीमाथि गरिएको साङ्घातिक आक्रमण, खाद्य तथा स्वास्थ्य सामग्रीको उपलब्धतामा हुने गरेको कृत्रिम अभाव तथा कालोबजारीजस्ता क्रियाकलाप तत्काल नियन्त्रण गर्न पनि आग्रह गरेको छ ।
झापा वार अध्यक्ष हरिप्रसाद अधिकारी र सरोकार समिति संयोजक टङ्कप्रसाद दंगालद्वारा हस्ताक्षरित विज्ञप्तिमा नागरिकले पनि सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड  पालना गरेर कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि सहयोग गर्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button