तपाईँ सुन्दै हुनुहुन्छः

बूढीगङ्गाको त्रिशक्ति मतदान केन्द्रमा झडप, प्रहरीद्वारा हवाई फायर

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका स्थित त्रिशक्ति मावि मतदान स्थलमा झडप भएको छ। झडप भएपछि मतदान प्रक्रिया केही समयका लागि स्थगित गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । फर्जी मत खसाएको विषयलाई लिएर दलका कार्यकर्ताहरुबीच विवाद भएपछि दोहोरो झडप भएको हो ।

झडपमा एकीकृत समाजवादी बाट वडाध्यक्षका उम्मेदवार भरतबहादुर थापा र स्थानीय मतदाता सीता थापाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । झडपलाई साम्य पार्न प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहार गरेको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताउनु भयो । अहिले मतदान स्थल सुरक्षाकर्मीको नियन्त्रणमै रहेको उहाँले बताउनु भयो । 

मतदान पुनः सुरु गर्न प्रयास भइरहेको उनको भनाइ छ ।मतदान स्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका गरी एक सयभन्दा बढीको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको भए पनि झडपलाई नियन्त्रणमा लिन उहाँहरूको भूमिका  प्रभावकारी नभएको  भन्दै स्थानीय मतदाताले गुनासो गरेका छन् । तर आफूहरूले समयमै झडप नियन्त्रणमा लिएको र केही समय पछि पुनः मतदान सुरु हुने प्रहरी नायब उपरीक्षक थापाले बताउनु भयो।

यसअघि वैशाख ३० गतेको मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो ।निर्वाचन कार्यालय बाजुराले दिउँसो १२ः००बजे गराएको जानकारी अनुसार बुढिगंगाको सबै मतदान स्थलमा ४८.९२प्रतिशत मत खसिसकेको छ।

बुढीगंगाको प्रमुख एमालेबाट रामबहादुर बानिया उम्मेदवार छन् भने काङ्ग्रेसबाट रंगबहादुर खाती प्रमुख पदका उम्मेदवार छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button