तपाईँ सुन्दै हुनुहुन्छः

‘सवारी साधनको नम्बर प्लेट नेपाली भाषामा लेख्नुपर्छ’

काठमाडौँ । नेपाली भाषा तथा साहित्यको संरक्षणका लागि सवारी साधनमा राखिने नम्बर प्लेट नेपाली भाषामा लेख्नुपर्ने बताइएको छ ।

नेपाल शिक्षा परिषद्ले आयोजना गरेको ‘सवारी साधनमा राखिने नम्बर प्लेटको अङ्क र अक्षर देवनागरिकमा लेखिनुपर्ने विषयक विचार सभा’ बोल्ने वक्ताहरूले नेपाली भाषाको संरक्षणका लागि नेपालमा दर्ता भएका सवारी साधनको नम्बर प्लेट नेपाली भाषामा राख्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य प्रा डा हेमनाथ पौडेलले सवारी साधनमा राखिने नम्बर प्लेट नेपाली भाषामा हुनुपर्छ भन्दै नेपाल प्रज्ञा प्रतिष्ठानले लामो समयदेखि आवाज उठाउँदै आएको बताउनुभयो ।

वरिष्ठ अधिवक्ता धुव्रलाल श्रेष्ठले भाषाजस्तो संवेदनशील विषय संवैधानिक इजलासमा लगेर फैसला गर्नु गम्भीर विषय भएको बताउनुभयो । “इम्बोस्ड नम्बर प्लेटसम्बन्धी फैसला कानुन र संविधान विपरीत छ, उक्त निर्णय भाषालाई सिध्याउने प्रयास हो”, उहाँले भन्नुभयो । उहाँले उक्त फैसला कार्यान्वयन भए नेपाली भाषा सकिने बताउनुभयो ।

अधिवक्ता द्वय विनोद कार्की र रामेश्वर राउतले संविधानले नेपाली भाषालाई नेपालको कामकाजको भाषा हुनेछ भनेर स्पष्ट उल्लेख गरेकाले नेपाली सवारीसाधनमा पनि नेपाली भाषामा लेखिएको नम्बर प्लेट उल्लेख गर्नुपर्ने बताउनुभयो । उहाँहरूले सर्वोच्च अदालतले इम्बोस्ड नम्बर प्लेटसम्बन्धी निर्णय गरे पनि जनआवाजले त्यसलाई नमाने फिर्ता हुने तर्क गर्नुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button