तपाईँ सुन्दै हुनुहुन्छः

खेलकुदकै माध्यमबाट महिला सशक्तीकरणमा जोड

जुम्ला । खेलकुदका माध्यमबाट जुम्लाका महिलाको सशक्तीकरणमा जोड दिन राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रम गरिएको छ । जसमा जुम्लाभरिका ५० जना महिला सहभागी छन् ।

क्षमता तथा नेतृत्व विकासका साथै महिलाप्रति समाजको भ्रम चिर्न खेलकुदको माध्यमबाट महिला सशक्तीकरणमा जोड दिइएको जिल्ला खेलकुद विकास समिति जुम्लाका प्रमुख बरम बहादुर महतले बताउनुभयो ।

कार्यक्रममा ६ जना प्रशिक्षकले महिलालाई प्रशिक्षण दिने भएका छन् । यस्ता कार्यक्रमले खेल क्षेत्रमा महिलाको सहभागिता बढाउने भएकोले विद्यालय स्तर सम्म पुर्‍याउन समेत सरोकारवालाले जोड दिएका छन् ।

महिलाले फुटबल, भलिबल, बक्सिङ, कराँतेजस्ता खेल खेल्नु हुन्न, शारीरिक बनावटले असहज हुन्छ भन्ने साँघुरो सोचाई अहिले पनि जुम्लाका ग्रामीण बस्तीमा विद्यमान छ । अझ भविष्यमा बाँझोपन हुन्छ, शरीर कच्चा बन्छ भनेर महिलालाई दौडिनु समेत हुन्न भन्ने जस्ता गलत मानसिकता समाजमा कायमै देखिन्छ । जसले गर्दा आँट क्षमता भएर पनि अवसर नपाउँदा थुप्रै महिलाहरू गुम्सिएर बस्न बाध्य छन् ।

तर पातारासीकी धावक सुनमाया बुढाले समाजको भ्रम चिर्दै दौडिएरै विश्वमा नेपाललाई चिनाउन सफल हुनुभएको छ । जसका कारणले सुनमायाले दर्जनौँ राष्ट्रिय, अन्तर्राष्ट्रिय पुरस्कार पाउनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले महिलाको क्षमता विकासका लागि महिला केन्द्रित खेलकुद प्रतियोगिता जस्ता अन्य कार्यक्रमको पनि आयोजना गरिनुपर्ने बताउनुभयो ।

एन्फाका केन्द्रिय सदस्य भरत बहादुर बुढ्थापाले यस कार्यक्रमले महिला सशक्तीकरणको सन्देश दिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button